झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।
झापा गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत् खपत गर्ने पालिका भित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले हिमशिखर टिभीलाई बताउनुभयो । विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले गर्भवतीलाई झापा जिल्ला भरिका अस्पताल सम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेट मार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले पाँच लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।
यसैगरी कमल गाउँपालिकाले आउँदो आर्थिक २०७८÷०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले हिमशिखर टिभीलाई बताउनु भयो ।
आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताउनुभयो ।