१ जेष्ठ, काठमाडौँ । नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे सिलिन्डर लिन चीन जाने भएको छ । चीन सरकारले दिएको सिलिन्डर लिन दोस्रो पटक निगमको जहाज चीन जान लागेको नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार १ गतेदेखि ४ गते सम्म निरन्तर चीनका उडान हुने भएको छ । 'एक उडानमा ४ सय सिलिन्डर ल्याउन सकिने भएकाले चार दिनसम्म निरन्तर उडान हुनेछ,' श्रेष्ठले भनिन । निगमलाई प्राप्त जानकारीअनुसार सिलिन्डर रहेको र अन्य सहयोगी संस्थाले दिएका स्वास्थ्य सामग्री छन् भने त्यो पनि ल्याउने प्रवक्त श्रेष्ठले बताइन् ।
यसअघि अक्सिजन सिलिन्डर लिनका लागि नेपाल वायुसेवा निगमको गत (सोमबार) एयरबस ३३० जहाज गएर मंगलबार ४ सय सिलिन्डर, १० भेन्टिलेर र १७० अक्सिजन कन्सर्नट्रेटर ल्याएको थियो ।
बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती उपलब्ध गराएको हो । कोरोनाको संक्रमण बढेसँगै नेपालमा अहिले अक्सिजनको माग बढेको छ । सिलिन्डर अभाव हुँदा बिरामीको उपचार प्रभावित हुँदै आएको छ ।