३ बैशाख, झापा । पूर्वको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सुनसरीको धरानबाट शनिबारदेखी हेली टुर सञ्चालन हुने भएको छ ।
धरान होलिडेज प्रालिको आयोजनामा ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेशी महादेब मन्दिरको दर्शन सहित पूर्वका हिमश्रृङखलाहरुको दृष्यावलोकन गराईने प्रालिले जनाएको छ ।
दुई वर्ष अघि सञ्चालन गरिएको हेली टुर गत वर्ष कोरोना महामारी कारण सञ्चालन हुन सकेको थिएन । पूर्वको पर्यटन क्षेत्रको विकास गर्न हेली टुरलाई पुनः सञ्चालनमा ल्याइएको होलिडेज प्रालि.का संचलक अमृत मानन्धरले जानकारी दिनु भयो ।
पाथिभरा मन्दिर दर्शनका लागि प्रतिव्याक्ति २९ हजार ९ सय ९९ रुपैयाँ लिइने र जेष्ठ नागरिक तथा अपाङको लागि भने १० प्रतिशत छुटको व्यावस्था गरिएको प्रालिले जनाएको छ । यस्तै, यात्रुहरुलाई सहुलियतका लागि यस बर्ष भने सहकारी संस्थासंग सहकार्य गरेर किस्तामार्फत पनि हेलिटुर गर्ने व्यवस्था मिलाइएको प्रालिले जनाएको छ ।
हेलिकोप्टरमार्फत टुरको पहुच पु¥याउन सर्वसाधारणलाई दैनिक १ सय र मासिक २ हजार ५ सय रुपैया जम्मा गरेर पनि हेलिटुर गर्न सकिने व्यवस्था रहेको प्रालिको दाबी छ ।
यस्तै, दुर्गम क्षेत्रका विरामीहरुलाई उद्धार गर्नुपरेमा हवाई एम्बुलेन्सको सेवा समेत दिइने प्रालिको भनाई छ ।