२४ चैत, झापा । राजधानीमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ ले पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा सोमबार भएको कहलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश–१ ले पहिलो जित निकालेको हो । लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले १३ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । जितसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा प्रदेश–१ एपीएफसँग ८ विकेटले पराजित भएको थियो ।
लुम्बिनीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स–११ सँग २७ रनले पराजित भएको थियो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।