दमक, ९ जेठ–विद्युत चुहावट भएर गए राति दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको किराना पसलबाट अचानक निस्किएको आगोले सँगै रहेको राज अग्रवालको मोबाइल पसलमा समेत क्षति पुगेको थियो ।
आगो समयमै नियन्त्रणमा आएका कारण सोही घरमा रहेको बालकुमार राईको सगुन होटलमा भने क्षति हुन पाएन । साहको दैनिक उपभोग्य खाद्य सामग्री नष्ट हुँदा ३० लाख बढी मूल्यको सामान नष्ट भएको थियो भने अग्रवालको मोबाइल पसलमा समेत १० लाख बढीको क्षति भएको प्रारिम्भक अनुमान गरिएको छ ।