दिलीप खत्री, खोटाङ ३ जेठ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको छ ।
गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन अन्तरगतको विद्युत विस्तार गरेपछि बिहिबार मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको हो । नगरपालिकाको एक करोड ९० लाख बजेटबाट मंगलटारका अधिकांश घरधुरीमा विद्युत विस्तार गरिएपछि नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले स्वीच अन गरेर विद्युत उद्घाटन गर्नुभएको हो ।
विद्युत विस्तार भएपछि स्थानीय हर्षित भएका छन् । विद्युत उद्घाटन गरिए पनि कतिपय घरमा मिटर बक्स जडानका काम भने भइरहेको वडा कार्यालयले जनाएको छ । मंगलटारको घुर्चुमा सामुदायिक विद्युतीकरण अन्तरगत दुई वर्षअघि नै विद्युत विस्तार गरिएको थियो । मंगलटारको विद्युतीकरणकाक्रममा उब्रिएको पोल तथा तार धितुङ, अर्खौले, बाहुनीडाँडा र बडहरेमा विद्युत विस्तारकाक्रममा उपयोग गरिने नगरप्रमुख राईले बताउनुभयो ।
उज्यालो वडा घोषणा अभियान अन्तरगत आगामी असारसम्ममा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा विद्युत विस्तारको काम पूरा गर्ने नगरपालिकाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले आवश्यक जनशक्त उपलव्ध गराए आगामी असारसम्ममा बडहरेमा विद्युत पु¥याउने काम सम्पन्न हुने नगरप्रमुख राईले बताउनुभयो ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा विद्युत बिस्तारका लागि डिपिआरको काम भइरहेको छ । डिपिआरको काम पूरा भए लगत्तै नगरसभाबाट आवश्यक बजेट बिनियोजन गरेर आगामी वर्ष विद्युत विस्तारको काम पूरा गर्ने लक्ष्य राखिएको नगरप्रमुख राईले बताउनुभयो ।