• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
संविधानको व्यवस्था र भावनाको प्रतिकूल जान दिदैनौं : प्रमुख सचेतक खाँण
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६

काठमाण्डौं १ जेठ - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसदमा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको छ ।
काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले संविधानको प्रतिकूल हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरी विभिन्न विधेयकहरु सङ्घीय संसद्मा दर्ता गरेको भन्दै आपत्ति प्रकट गरेको हो । काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुनेगरी सरकारले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने आशय बोकेको निष्कर्ष निकालेको छ । 
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको भए पनि सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी विधेयकहरु सङ्घीय संसदमा दर्ता गराएको आरोप लगाए ।
विधेयकले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ को प्रस्तावनामा रहेको ‘स्वायत्तता र स्वतन्त्रता’ शब्द हटाई स्वतन्त्र संंवैधानिक आयोगलाई महान्याधिवक्ता कार्यालयअन्तर्गत राख्न खोजिएको प्रमुख सचेतक खाणको टिप्पणी थियो । नेपाली जनताको मानव अधिकारको संरक्षण र रक्षा गर्ने मानव अधिकार आयोगलाई सबल, सक्षम बनाउनु पर्नेमा सरकारले निरिह, कमजोर र निश्प्रयोजन गर्ने कोसिस गरिएकोे काङ्ग्रेसले जनाएको छ ।
 
    

Comments