असोज १७,ताप्लेजुङ । ताप्लेजुङमा सरकारी छाप दस्तखत किर्ते कसूरको मुद्दाका प्रतिवादिलाई तोकीएको धरौटी राख्न नसक्दा कारागार चलान गरिएको छ ।
धरौटी रकम जम्मा गर्न नसक्दा ताप्लेजुङ्ग फुङलिङ नगरपालिका वडा नं ४ स्थायी घर भइ हाल काठमाण्डौँ महानगरपालिका वडा नं. ३२ बस्ने रविन सेनेहाङ्गलाई जिल्ला अदालत ताप्लेजुङवाट तोकिएको १० लाख १० हजार रुपैयाँ धरौटी जम्मा गर्न नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सेनेहाङले २०७२ साल जेठ २६ गते तत्कालिन ताप्लेजुङ नगरपालिका कार्यालयबाट प्राप्त सिफारीस पत्र परिवर्तन गरी नेपाल सरकारको छाप, लोगो, नगरपालिका कार्यालयको छाप, प्रयोग गरेर पत्र खडा गरी मालपोत कार्यालय ललितपुरमा पेश गरी उनको आमा स्वर्गीय रत्ना सुव्वाको नाममा रहेको जग्गा नामसारी गरी बिक्री गरेका थिए ।
सरकारी छाप दस्तखत किर्ते कसूर गरेको भन्ने व्यहोराको जाहेरीका आधारमा २०७५ साल जेठ १३ गते ललितपुरबाट सेनहाङलाई पक्राउ गरिएको थियो ।