ईलाम २१ साउन । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट भवन’ निर्माण हुने भएको छ । इलाम बजारको मुख्य चोक सँगै रहेको भीमसेन स्थान मन्दिर अगाडि सपिङ कम्प्लेक्सको निर्माण हुने भएको हो ।
इलाम नगरपालिका र नेपाल सरकारको नौं करोड ३८ लाख रूपैयाँको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको इलाम नगरपालिका कार्यालयले जनाएको छ ।
भवनमा ९२ वटा सटर, दुईवटा लिफ्ट र चौथो तलाको शिरानमा स्टील टस्ट लगाएर त्यसमा तरकारी र मासु पसललाई व्यवस्थापन गर्ने लक्ष्य रहेको नगरपालिका इन्जिनियर दिपक गुरागाईंको भनाइ छ ।
भवन निर्माणका लागि निर्माण स्थलमा रहेका कपडा र तरकारी पसलहरू हटाइ सकिएको छ । गुरागाईका अनुसार अबको २१ महिना भित्र अर्थात ०७६ चैत ३० गते सम्ममा भवन निर्माण भइसक्ने छ । निर्माणको जिम्मा विकोइ भगवती जेभीले लिएको छ ।
हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवनको निर्माणले थप सहयोग पुर्याउने अपेक्षा लिइएको र इलामलाई टुरिजम हबका रूपमा पनि विकास गर्न यो आधुनिक भवनले सहयोग बताइएको छ ।