काठमांडौ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिने तत्वहरु लागिपरेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले डाक्टर केसीको जीवनरक्षाको लागि तीन जना डाक्टरको सल्लाह अनुसार जुम्लाबाट ल्याएको भन्दै वार्ता गर्न पनि नदिने, समस्याको समाधान गर्न पनि नदिने तत्व हावी भएको बताउनुभयो ।
उहाले शिक्षा क्षेत्रलाई राजनीतिक भूमरीमा पार्न खोजिएको भन्दै यसलाई सबैले चिर्नुपने उल्लेख गर्नुभयो । उहाले शिक्षा क्षेत्रमा समस्या रहेको भन्दै सबै समस्याहरुलाई हल गर्न उच्च शिक्षा आयोग बनाउन सरकार तयार रहेको पनि बताउनुभयो । संविधान सबैले मान्नुपर्ने भन्दै केही तत्वहरुले अराजकता निम्त्याउन खोजिरहेको उहाको भनाई छ ।
निजी सम्पत्तिलाई रष्ट्रियकरण गरे मात्र समस्याको समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको भन्दै उहाले सम्पूर्ण निजी क्षेत्रलाई अहिले नै राष्ट्रियकरण गर्न संविधानले नै नदिने स्पष्ट पार्नुभयो ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागी हेलिकप्टर पठाइएको भन्दै अपहरण गरिएको आरोपप्रति आपत्ती जनाउनुभयो ।
उहाले माथेमा आयोगको सुझाव अनुसार नै नया चिकित्सा बिद्ययेक ल्याईएको भन्दै डाक्टर केसीसंग वार्ता गर्न सरकार तयार रहेको धारणा राख्नुभयो ।


