एजेन्सी । थाइल्यान्डको उत्तरी चियाङ राइ प्रान्तको ताम लुङ गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्केका छन् । वाइल्ड वोर्स जुनियर फुटबल टोलीका ती सदस्यहरु अस्पताल छाड्नुअघि पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।
आफूलाई उद्धार गर्ने थाई नेभी सिलका सदस्यसहित फुटबल सामग्री लिएर उपस्थित भएका उनीहरुले आफूहरुको उद्धारकार्यलाई ‘चमत्कार’ भनेका छन् । उनीहरुलाई मानसिकरुपमा असर नपर्ने ठानेपछिमात्र पहिला नै तयार गरिएको प्रश्नको जवाफ दिने गरी पत्रकार सम्मेलनको व्यवस्था मिलाइएको थियो ।
प्रान्तका गर्भनर प्राचोन प्रास्त्सुकानले ‘अफिसियल’ सन्चारमाध्यमलाईमात्र अन्तर्वार्ता दिएका उनीहरुलाई यसपछि सन्चारमाध्यमसँग कुरा गर्न नदिइने बताएका छन् ।
उनीहरुलाई केही समय बौद्ध भिक्षुहरुसँग पनि राखिने योजना रहेको छ । गत जुन २३ मा गुफामा पसेका उनीहरु बाढी पसेपछि दुई हप्ता बढी समय त्यही थुनिएका थिए ।