सुनसरी । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् ।
स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनु भयो ।
यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए । यहाँ ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन् ।
चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लुु हुन सक्ने स्थानीय पशु प्राविधिक पाठकले आशंका गर्नु भयो । पाठकले किसान यादवले प्रतिगोटा रु ४५ का दरले करीब रु १८ हजारको चल्ला ल्याएको र १२ घण्टा नहुँदै एक्कासि चल्लाको मृत्यु भएकाले स्थानीयवासी सशंकित भएका छन् ।
आवश्यक चेकजाँच तथा परीक्षण गर्नका लागि जिल्ला पशुसेवा कार्यालयलाई समेत आग्रह गरेको पीडित किसानलाई उद्धृत गर्दै प्राविधिक पाठकले बताउनु भयो ।
चल्ला एक्कासि मरेपछि किसान चिन्तित भएका छन् । किसानले आफूले ल्याएको चल्ला एक्कासि मरेपछि बिक्रेतासँग क्षतिपूर्तिको मागसमेत गरेका छन् ।