• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
मोफसल समाचार
डाँस मोरङ्गी सामुदायिक वनमा संचालित दुना टपरी उद्योग आर्थिक अभावका कारण बन्द (रिपाेर्ट)
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०७४

माेरङ । मोरङ पथरीशनिश्चरे–१० स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको दुना टपरीको उद्योग आर्थिक अभावका कारण बन्द भएको छ । दुना टपरी बनाउने उद्योग सञ्चालन गरेपछि त्यस क्षेत्रका धेरैले काम पाएका थिए । तर उद्योग बन्द भएपछि स्थानीयको आयआर्जनको मेलो पनि बन्द भएको छ । 

सामुदायिक वनले वैकल्पिक आम्दानीको श्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको थियो । यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घरखर्चको जोहो मात्र भएको थिएन पर्यावरणीय हिसाबले समेत फाइदा पुगेको समूहका अध्यक्ष जीवन कटुवाल बताउनु हुन्छ ।

केही वर्षअघि नगरपालिकाले प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको स्मरण गर्दै अध्यक्ष कटुवालले दुना टपरी उद्योग पुनः सञ्चालन भए नगरपालिकाको अभियानलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

गाउँ नजिकै ठूलो सालघारी छ । पाखुरा बजारेर काम गर्न नसक्नेहरू विहान एकछिन सितलमा डोको बोकेर वन जानेर र डोकोभरि सालका पात टिपेर ल्याई लाफा बनाएर समूहलाई विक्री गर्दा घरखर्चको जोहो भएको थियो । उनीहरुले घरमा ल्याएर सिन्कोले उनेर लाफा तयार गर्थे ।

चन्द्रमाया दियाली हप्तामा चार पाँच सयको लाफा बेच्नुहुन्थ्यो । जंगलमा खेर गइरहेको पातलाई सामुदायिक वनले किनिदिंदा सबै उपभोक्ता खुसी नै थिए । तर, उद्योग बन्द भएपछि चन्द्रमाया दियाली जस्ता दर्जनौलाई चिन्ता छ आजभोलि । 

पथरीशनिश्चरे नगरपालिकाले दुई वर्षअघि प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेपनि कार्यान्वयनको पक्ष फितलो भएको नगरप्रमुख दिलिपकुमार राई स्वीकार्नु हुन्छ । 

उद्योग पुनः सञ्चालन गरी प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न नगरपालिकाले दुना टपरी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ । जंगलको सुकेको सालको पात संकलन गरी दुना टपरी बनाएर विक्री गर्दा आम्दानी मात्र होइन वन डढेलो नियन्त्रणमा समेत टेवा पुग्न सक्छ ।

Comments