तेह्रथुम १५ कार्तिक । तेह्रथुमको लालीगुरास नगरपालिकामा पूर्वकै महत्वपूर्ण धार्मिक तीर्थस्थलको रुपमा रहेको सभापोखरी निर्माण गरीएको छ । लालीगुराँस नगरपालिका–४, फुलेक स्थित चित्रे बजारबासीले नजिकैको पट्टेक डाँडामा सभापोखरी निर्माण गरेका हुन् ।
पछिल्ला वर्षहरुमा तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्र अन्तर्गत संखुवासभाको उच्च क्षेत्रमा रहेको सभापोखरीमै पुगेर दर्शन गर्न भक्तजनहरुलाई कठिन भएको भन्दै नजिकमै पोखरी निर्माण गरिएको हो । स्थानीयले सो पोखरीमा सभा पोखरीको जल ल्याएर चढाएका छन् ।
धनकुटा र तेह्रथुमको सिमास्थित चित्रे वजारवासीले स्थानीय पट्टेक डाँडामा पोखरी निर्माण गरी धार्मिक पर्यटन प्रवद्र्धनको थालनी गरेका हुन् ।
लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजनाको कार्यालय वसन्तपुर र स्थानीयबासीले जनश्रमदान समेत गरी २५ लाख रुपैंयाको लागतमा पोखरी निर्माण गरी घेरावारा गरीएको हो । पोखरीमा अहिले दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउन थालेका छन् ।
पोखरी निर्माण पछि दर्शनका लागि एक हप्ता लगाएर संखुवासभाको हिमाली क्षेत्र सभापोखरी पुग्नु पर्ने वाध्यता हटेको स्थानीयको भनाई छ । उच्च क्षेत्रको सभापोखरी पुगेर गर्ने दर्शन यहाँको पोखरीमा आएर गरेपनि फल प्राप्ति हुने विश्वास गरिएको छ ।




