इटहरी ३१ असोज । हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै घर झिलीमिली बनाउन प्रयोग हुने माटोका भाडा बनाउने कुमालेहरुलाई भ्याई नभ्याई रहेको छ ।
तिहारको समयमा आफ्नो घरलाई उज्यालो बनाउन माटोका दियो तथा अन्य माडाहरु प्रयोग गर्ने परम्परा रहि आएको छ । यहि परम्परा अनुसार यस्ता माटोका दियो ,धुपोउरो लगायतका समाग्रीहरु बनाउने कुमाले समुदायलाई भ्याईनभ्याई हुने गरेको छ ।
माटोको दियोमा बत्ति बालेर घरको पूजा कोठा साथै अन्य कोठाचोठा तथा आगनमा सजाउने गरिन्छ ।तिहारको समयमा माटोको दियो, पाला सहित अन्य सामाग्रीहरुको विक्री बढि हुने गर्दछ । तिहारका लागि भनेर कुमालेहरुले केही समय अघि देखि नै यी सामाग्रीहरु तयार गर्ने गरेका छन् । अन्य समयको तुलनामा तिहारको विक्रीले नै यो समुदायको घर खर्च चल्ने गरेको छ ।
तर पछिल्लो समय प्लाष्टिकका सामाग्री तथा विद्युतीय समाग्रीका कारण माटोका सामाग्रीहरुको माग घट्दै गरेको कुमालेहरु बताउँछन् । माटोका सामाग्री बनाउँदा बढि मेहनत पर्ने,केही महंगो पर्ने भएकाले माग घटेको उनीहरुको भनाई छ । यहि पेशाको भरमा जिवन चलाउनु पर्ने भएकाले चिन्ता बढेको कुमालेहरु बताउँछन् ।
माटोको काम गर्नेहरुले पछिल्लो समयमा माटो मुछ्न र चक्र चलाउन मेशिनको प्रयोग गर्न थालेका छन् । तर पनि माटोको काम गरेर जिवीकोपार्जन गर्न नसकिने भन्दै युवाहरु बैकल्पीक पेशामा लाग्न थालेको इनरुवा क्षेत्रका कुमालेहरु बताउँछन् ।




