काठमाडौं, ६ साउन । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा आगामी साउन २६ , २७ र २८ गते सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप आयोजना हुने भएको छ ।
खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कप आयोजना गर्न लागिएको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दे जानकारी दिएको छ । प्रतियोगिता आयोजक संस्था गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैसेपाटीमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता पत्रकार सम्मेलनमा गोलपोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक केशव थापाले पत्रकारको परिवारलाई सहयोग गर्नका लागी प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै आगामी दिनमा पनि बिबिध कार्यक्रम गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा खेल संयोजक पत्रकार दिलिप थापा मगरले यस वर्षपनि बिभिन्न टेलिभिजन, पत्रपत्रिका, रेडियो तथा अनलाईन मिडियाको टिमको सहभागीता हुने बताउनुभयो । उहाँले बिपतमा परेका पत्रकारलाई पनि सहयोग गर्ने तयारी भएको बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५०, ००० नगद पुरस्कार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ भने द्धितिय हुने टिमलाई रु २५ हजार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने बताईएको छ ।


