• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
राष्ट्रिय
यस्ता छन् स्थानीय तह निर्वाचन २०७४ का रोचक पक्ष
प्रकाशित मिति: बुधबार, जेठ ३, २०७४

३ जेठ । तीन ओटा प्रदेशका ३४ जिल्लामा बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना भई रहँदा बिभिन्न रोचक पक्ष देखिएका छन् । हुन त सवै स्थानीय तहको मतदानको अन्तिम परिणाम आई सकेको छैन । तर सार्वजनिक भएका केहि परिणाम भने रोचक देखिएका छन् ।

कान्छी नेत्री
केहि अघिसम्म रञ्जु तिलाङ्गीको परिचय समाजसेवी र सामाजिक विभेदविरोधी अभियन्ताको थियो । अब उनले नयाँ परिचय पाएकी छन्, नेत्रीको रुपमा । त्यो पनि कम उमेरमा विजयी भएर ।  ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला सदस्य कोटामा २३ वर्षीया रञ्जु निर्विरोध निर्वाचित भएकी हुन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी हुने उनी अहिलेसम्मकी कान्छी हुन् ।

८० वर्षमा वडाध्यक्ष
राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन भन्ने उक्तिलाई सिन्धुपाल्चोकका एक वयोवृद्ध कांग्रेस नेताले चरितार्थ गरिदिएका छन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वा्चित भएका छन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

झिनो मतअन्तर
डोल्पाको मुड्केचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले छिनो मत अन्तरले चुनाव जितेको छ । डोल्पाको मुड्केचुला गाउंपालिकामा माओवादी केन्द्रका दत्तबहादुर शाहीले निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायभन्दा २ मत बढी ल्याएर निर्वाचित भएका छन् । त्यस्तै, जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाहीले एमालेका प्रत्यासी भैबहादुर रोकायाभन्दा तीन मतले धेरै ल्याएर अध्यक्ष जितेका छन् । उनले एक हजार ३ सय १७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका रोकायाले एक हजार ३ सय १४ मत मा चित्त बुझाउनुपरेको छ । 

 चिट्ठा तानेर बिजयी
सल्यानको ढोरचौर गाउँपालिका वडा नं. ४ का कांग्रेस र एमालेका वडाध्यक्ष उम्मेदवारहरुले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंग्याइएको छ । कांग्रेसका दिनेश विएम र एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेका थिए । वडाध्यक्ष चयनका लागि गरिएको गोलाप्रथामा कांग्रेसका दिनेश विएमले बाजी मारेका छन् । गाउँपालिका नेतृत्वमा भने एमालेले जितेको छ ।
 
चिन्ह नभएको मतपत्र

भक्तपुरको एक स्थानमा भने त्यहाँ रहेका उम्मेद्वारको चिन्हनै नभएको मतपत्र वितरण गरिएको छ । चाँगुनारायण नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद समेत भयो । भक्तपुर नेपाल मजदुर किसान पार्टीको राम्रै प्रभाव रहेको जिल्ला पनि हो । 

उम्मेद्वार बिनै भोट
ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भयो जसअनुसार एमालेले उपमेयरमा राप्रपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको थियो । अर्थात् ललितपुर महानगरमा एमालेका उपमेयर उम्मेदवार नै थिएनन् । तर, वडा नं १ को मतगणना गर्दा उपमेयरमा एमालेले सबभन्दा बढी मत पाएको छ । एमालेले यो पदमा १ सय ३३ मत पायो भने राप्रपाका उपमेयर उम्मदेवार बाबुकाजी प्रधानले ८९ मत मात्रै पाए ।

Comments