एजेन्सी । किस्तानले काश्मिरमा भारतीय पक्षले हानेको गोली लागेर आफ्ना सात सैनिकको मृत्यु भएको जनाएको छ ।
उक्साहट बिना नै भारतीय पक्षले चलाएको गोली लागेर आफ्ना सैनिकको ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ । भारतीय पक्षले बिम्बर क्षेत्रको नियन्त्रण रेखामा गोली चलाएको पाकिस्तानले बताएको छ ।
तर भारतीय पक्षले भने पाकिस्तानी क्षेत्रबाट गोली चल्न थालेपछि आफूहरुले जवाफी कारवाही गरेको दाबी गरेको छ । सन् २००३ पछि काश्मिरमा भएको भिडन्तमा पाकिस्तानी सेनालाई एकै पटक भएको यो सबैभन्दा ठूलो नोक्सानी हो ।
तीन महिना भन्दा लामो समयदेखि काश्मिरमा तनाव छ । यसले गर्दा भारत र पाकिस्तानबिचको सम्बन्धमा दरार आएको छ । पाकिस्तान र भारत दुवै पक्षले काश्मिरको विषयमा सन् २००३ मा भएको शान्ति सम्झौताको उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् ।
पछिल्लो केही हप्तादेखि नियन्त्रण रेखामा भएका घटनामा दुवै पक्षका नागरिक मारिएका छन् । सीमा क्षेत्रका गाउँका बासिन्दा विस्थापित भएका छन् ।




