गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए छाडेर पुनः गोर्खाल्याण्ड आन्दोलनमा जाने गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बताएपछि भारतको दार्जीलिङमा पुनः आन्दोलन हुन लागेको छ ।
चारबर्ष अघि पश्चिम बंगाल राज्य सरकार, केन्द्र सरकार र गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाविच दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए गठन गर्ने सम्झौता भएको थियो ।
तर सो स्थानीय प्रशासनिक निकाय जिटिएलाई पश्चिम बंगाल सरकारले असहयोग गरेको भन्दै मोर्चाका अध्यक्ष गुरुङले पुनः आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । गुरुङले ‘ब्याक टु एजिटेसन’ भन्दै दार्जीलिङका नेपाली भाषी गोर्खालीहरुलाई आन्दोलनमा उत्रनका लागि तयार रहन भनेपछि त्यहाँ पुनः आन्दोलनको संभावना बढेर गएको छ ।
आइतबार दार्जीलिङमा भएको एउटा कार्यक्रममा बोल्दै गोजमुमोका अध्यक्ष गुरुङले पश्चिम बंगाल राज्य सरकारकी मुख्यमन्त्री ममता बेनर्जीलाई भारतको केन्द्र सरकारलाई नटेर्ने ‘अटेरी’ मुख्यमन्त्रीको संज्ञा दिए ।




