तेह्रथुम, १४ साउन । सदरमुकाम म्याङलुङ्गमा यसवर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जिल्लामा हालसम्मकै सर्वाधिक धनराशीको खुल्ला पुरुष फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ ।
खेलकुदमा विकास सँगै युवाहरुको क्षमता अभिवृद्धि गराउने उदेश्यले स्थापित सामुदायिक चेतना अभिवृद्धि तथा बातावरण मैत्री राष्ट्रिय विकास संस्था (युक्यानडु) ले पत्रकार सम्मेलन गर्दै यो वर्ष पनि प्रतियोगिता सन्चालन गर्ने जानकारी दिएको हो । सदरमुकाम म्याङ्गलुङस्थित टुंडिखेलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सन्चालन हुने प्रतियोगिता भाद्र २ गतेबाट एक सातासम्म चल्ने अध्यक्ष शिक्षित तुम्बाहाम्फेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख २० हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । म्याङलुङ्गमा वर्षौँ अघि देखि हरेक वर्षको श्रीकृष्ण जन्माष्टमीको अवसरमा खेलकुद तथा साँस्कृतिक कार्यक्रमसहित मेला लाग्ने गरेको छ । यो वर्षपनि फुटबल प्रतियोगितासहित अन्य मनोरञ्जनात्मक कार्यक्रमसहितको मेला लाग्ने आयोजकले जनाएको छ ।
मेलामा लोप हुँदै गएको बाहुल्य लिम्बु समुदायको पहिचानलाई मध्य नजर गर्दै धान नाच लाई प्रतियोगिताकै रुपमा सन्चालन गरिने आयोजक संस्थाका सचिव रामकुमार राईले बताए ।
फुटबल प्रतियोगिता तथा मेला सन्चालन पुर्व र समापन पछि बजार सरसफाइको कार्यक्रम समेत आयोजक आफैले गर्ने जनाइएको छ ।
मेलाका बातावरणलाई कुनै असर नपुर्याउने तथा मेलाकै माध्यमबाट वातावरणमैत्री शहर र समाज निर्माणका लागि सचेतना फैलाउने लक्ष्य लिइएको आयोजक संस्थाले जनाएको छ ।
यसअघि जिल्लामा यत्तिका राशीको पुरस्कार राखेर कुनैपनि प्रतियोगिता सन्चालन नभएको आयोजकले दाबी गरेको छ ।
त्यसो त जिल्लामा फुटबल खेलका लागि उपयुक्त खेलमैदान सदरमुकाममै पनि छैन । खेलमैदान नहुँदा वर्षेनि हुने खेलकुद प्रतियोगिताहरु सदरमुकाम म्याङलुङको टुँडिखेल स्थित साप्ताहिक हटिया लाग्ने मैदानमा हुने गरेका छन् । जिल्लामा वर्षेनि विभिन्न संघ संस्था र खेलप्रेमीहरुको संयोजनमा खेलकुद प्रतियोगिताहरु हुने गरेपनि भनेजति अग्रता जिल्लाले लिन नसकेको सरोकारवालाहरु बताउँछन् ।


